दफा ४३
बीमा सुविधा सम्बन्धी व्यवस्था
(१) कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको नजिकको हकवालालाई बीमा बापत एक लाख पचास हजार रुपैयाँ एकमुष्ट प्रदान गरिनेछ ।
(२) नेपाल सरकारले एउटा सावधिक जीवन बीमा कोष स्थापना गर्नेछ । प्रत्येक कर्मचारीको मासिक तलबबाट दुई सय रुपैयाँ कट्टा गरी सो कोषमा जम्मा गरिनेछ र त्यति नै रकम नेपाल सरकारले थप गरी बीमाङ्क रकम एक लाख रुपैयाँको बीस वर्षे सावधिक जीवन बीमा गरिदिनेछ । सो बीमा कोषमा जम्मा भएको रकममध्येबाट कर्मचारी सेवा निवृत्त हुँदा निजलाई बीमाङ्क रकम र बोनस भुक्तानी दिइनेछ ।
(३) उपदफा (२) बमोजिम रकम कट्टा गर्न शुरु गरेको बीस वर्ष अवधि नपुगी कुनै कर्मचारी सेवाबाट अनिवार्य अवकाश पाएमा देहाय बमोजिमको रकम प्रदान गरिनेछः–
(क) एक वर्षभन्दा कम अवधिको रकम कट्टी गरिएको भएमा दश हजार रुपैयाँ,
(ख) एक वर्षदेखि पाँच वर्षसम्म रकम कट्टी गरिएको भएमा पच्चीस हजार रुपैयाँ,
(ग) पाँच वर्षदेखि दश वर्षसम्म रकम कट्टी गरिएको भएमा पचास हजार रुपैयाँ,
(घ) दश वर्षदेखि पन्ध्र वर्षसम्म रकम कट्टी गरिएको भएमा पचहत्तर हजार रुपैयाँ,
(ङ) बीस वर्षसम्म रकम कट्टी गरिएको भएमा एक लाख रुपैयाँ ।
तर निजले जम्मा गरेको रकम र सोको व्याज, लाभांश रकम उल्लिखित रकमभन्दा बढी हुन आएमा सोही बराबरको रकम उक्त कोषबाट प्रदान गरिनेछ ।
(४) कुनै कर्मचारीले उपदफा (१) बमोजिम रकम जम्मा गर्न शुुरु गरेको बीस वर्ष नपुगी मृत्यु भएको वा अनिवार्य अवकाश भएको अवस्थामा बाहेक अन्य जुनसुकै किसिमबाट सेवाबाट अवकाश भएमा त्यस्तो कर्मचारीलाई समर्पण मूल्य बराबरको रकम उपलब्ध गराइनेछ ।
(५) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्य सेवाबाट अवकाश हुने कर्मचारीले सावधिक जीवन बीमा बापत जम्मा गरेको रकम बीस वर्ष वा सोभन्दा कम अवधिमा परिपक्व हुने गरी निरन्तरता दिन सक्नेछ ।
तर सो बापत नेपाल सरकारले कुनै रकम व्यहोर्ने छैन ।
(६) सावधिक जीवन बीमा कोष सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।